Pid Image
Latest Events

आयोजना निर्देशक खत्रीको बिदाइ, मेलम्ची बोर्डको कार्यकारी निर्देशकको रूपमा सफल कार्यकालको शुभकामना

असोज २, २०७६ काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची बोर्डको कार्यकारी निर्देशकको रूपमा नियुक्त हुनुभएका निर्देशनालयका निवर्तमान आयोजना निर्देशक तिरेश प्रसाद खत्रीको बिदाइ कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमलाइ निर्देशनालयका आयोजना उप-निर्देशक मिलन कुमार शाक्य, आयोजना प्रबन्धक सुरत कुमार बम, निर्देशनालयको सुरक्षण इकाइका प्रमुख लक्ष्मी पन्त भट्ट, अर्थ प्रबन्धक रविन कोइराला, निर्देशनालयका आयोजना व्यवस्थापनविद ध्रुव राज रेग्मी, डिजाइन सुपरभिजन कन्सल्टयान्ट-०६ का टोली नेता पास्कल ज्यान्सेन लगायतका वक्ताहरूले संबोधन गर्नुभएको थियो । वक्ताहरूले आयोजना निर्देशकको रूपमा खत्रीले प्रदर्शन गर्नुभएको क्षमताको प्रशंसा गर्नुभएको थियो । उहाँको नेतृत्वमा निर्देशनालयले उपत्यकाभित्र मेलम्ची आयोजना अन्तर्गतका धेरै संरचनाहरूको निर्माण गर्न सकेको उहाँहरूको भनाइ थियो । साथै वक्ताहरूले निर्देशनालयको आयोजना निर्देशकको रूपमा सफलता हासिल गरेजस्तै बोर्डको कार्यकारी निर्देशकको पद संहालिसकेपछि मेलम्ची सुरूङको बाँकी रहेको काम सम्पन्न गरी उपत्यकाबासीलाइ मेलम्चीको पानी खुवाउन उहाँ सक्षम हुनुहुनेछ भन्ने विश्वास प्रकट गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । उक्त अवसरमा उप-निर्देशक मिलन कुमार शाक्य, आयोजना प्रबन्धक सुरत कुमार बम, सुरक्षण इकाइका प्रमुख लक्ष्मी पन्त भट्ट, डिजाइन सुपरभिजन कन्सल्टयान्ट-०६ का उप-टोली नेता नन्द बहादुर खनाल लगायतले निर्देशक खत्रीलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको समापनका क्रममा छोटो मन्तव्य दिँदै निर्देशक खत्रीले विगतमा झैँ सबैको साथ पाएमा आफू पदीय दायित्व पुरा गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

Navigation

Social Media