धोबीघाट ढल प्रशोधन केन्द्र तोकिएकै समयमा सम्पन्न गर्न सचिव सिग्देलको निर्देशन
काठमाडौ : पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले ललितपुरको धोबीघाटमा निर्माणाधीन ३ करोड ७० लाख लिटर प्रशोधन क्षमताको ढल प्रशोधन केन्द्र तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
शुक्रबार मन्त्रालयका सचिव सिग्देल, सहसचिव रमाकान्त दुवाडी, पूर्वाधार विकास मन्त्रीको सचिवालय टोली तथा आयोजना कार्यान्वयन निर्देशनालय (PID) को टोलीले धोबीघाटस्थित ढल प्रशोधन केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा उक्त निर्देशन दिइएको हो।
अनुगमनका क्रममा आयोजना कार्यान्वयन निर्देशनालयद्वारा हाल ३ करोड ७० लाख लिटर क्षमताको एउटा ढल प्रशोधन केन्द्र परीक्षण (Testing) को अवस्थामा रहेको र सोही बराबर क्षमताको (३ करोड ७० लाख लिटर) अर्को प्रशोधन केन्द्र भने निर्माणाधीन अवस्थामा रहेको टोलीलाई जानकारी गराईएको थियो।
३ करोड ७० लाख लिटर क्षमताको एउटा ढल प्रशोधन केन्द्र (Wastewater Treatment Plant) को परीक्षण सञ्चालन (Testing and Commissioning) यही असार ३० गते देखि सुरु गरिएको हो।
स्थलगत निरीक्षणपछि सचिव सिग्देलले आयोजनाको काममा कुनै ढिलासुस्ती नगरी समयमै निर्माण कार्य पूरा गर्न जोड दिनुभएको थियो।
सचिवको निर्देशनपछि आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक ई. राम कुमार श्रेष्ठले तोकिएको समयसीमाभित्रै आयोजनाका बाँकी कामहरू सम्पन्न गर्न निर्देशनालय दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2019-01-09
Last updated 3 mins ago